कलैया, बारा ।
आम जनता पार्टी (आजपा)ले घोषणा गरेको आजको मधेस बन्द पूर्णरुपमा सफल भएको निष्कर्ष निकालेको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बैंकिंङ लुट विरुद्धको मधेस बन्द प्रहरीको व्यापक दमनका बावजुद पनि पूर्णरुपमा सफल भएको जनाएका छन् ।
देशको समग्र बैंकिंग प्रणालीको सुधार एवं बैंक तथा बितिय संस्थाबाट पीडित जनताको न्यायसंग सम्बन्धित यस आन्दोलनमा सक्रिय नेतृत्व एवं साहसिक प्रदर्शन गर्ने पार्टीका सम्पूर्ण नेता–कार्यकर्ता तथा आन्दोलनमा सक्रिय योगदान गर्ने आम बुद्धिजिवी, ब्यापारी, उधोगी, संचारकर्मी लगायत्तका जनसमुदायलाई साहले धन्यवाद व्यक्त गरेका छन् ।
आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले मधेस बन्द गरेको हो । ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जा उपलब्ध गराउन’ माग गर्दै आजपाले मधेस बन्द गरेको हो ।
मधेस बन्द सफल बनाउँनका लागि आजपाका नेता–कार्यकर्ताहरु बिहानै देखी प्रदर्शनमा उत्रिएका थिए । आजपाका सहप्रवक्ता एवं विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटाले देशको अर्थतन्त्र जर्जर बन्दै गएको र बैंकहरुले मनोमानी ढङ्गबाट लुट मच्चाइरहेका बेला सरकारलाई सचेत गराउँन आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् ।
‘यस्तो अवस्थामा पिडितलाई न्याय दिलाउन, गरिएको शान्तिपुर्ण आन्दोलनलाई वेवास्ता गर्दै राज्यले बल प्रयोग गरि हाम्रा नेता, कार्यकर्ता तथा पिडितमाथी गरेको दमनको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ’ सहप्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आम पीडित जनताको न्यायको माग यथाशिघ्र सम्बोधन तथा कार्यान्वयन गर्न र गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताको सिघ्र रिहाइ तथा घाँइतेको उपचार गर्नुपर्ने माग उनले गरेका छन् । मधेस बन्द सफल बनाउँन सडकमा प्रदर्शन गरिरहेका पार्टीका सयौं नेता–कार्यकर्ता पक्राउँ परेका छन् ।
आजपा उपाध्यक्ष एवं सभासद तिलक थापा, उपाध्यक्ष रिता देवी साह, महासचिव उपेन्द्र साह, उपमहासचिव अरुण घिसिङ, सचिव समिना हुसेन, प्रदेश अध्यक्ष उमेश कुशवाह, मुस्लीम मोर्चाको केन्द्रिय अध्यक्ष लालबाबु मन्सुरी, प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह, आइटी आर्मीका उपाध्यक्ष सुमन यादव, प्रदेश सचिव ममता शर्मा, महिला मोर्चाका केन्द्रिय अध्यक्ष बबिता कुमारी साह, इन्चार्ज सिमल साह, पार्टीको रौतहट इन्चार्ज त्रिभुवन साह तथा आजपा सांसद प्रंभु साहका स्वकीय सचिव बिजय यादव, आइटी आर्मीको केन्द्रीय सदस्य रामसरण यादव, आम सांस्कृतिक मोर्चाका केन्द्रीय सदस्य दिपलाल यादव ,आम विधार्थी मोर्चाका इन्र्चाज सरोज कुमार बछार लगायत सयौ नेताकार्यकर्ता तथा पीडितलाईं विभिन्न ठाँउबाट बलपुर्वक धरपकड गरि गिरफ्तार गरिएकोमा उनीहरुलाई रिहाई गर्न पार्टीले जोड्दार माग गरेका छन्। साथै प्रहरीको धरपकड कार्यको घोर भत्सर्ना गर्दै संविधानले दिएको शान्तिपुर्ण विरोध तथा प्रर्दशन गर्न पाउने हकको उल्लंघन भएको ठहर आजपाको रहेकोे छ ।
आजपा कार्यालय सचिव रञ्जुकुमारी साहले सरकार आफूहरुको शान्तिपुर्ण आन्दोलनको माग सम्बोधन गर्नमा ढिलाई गरे यो भन्दा कडा आन्दोलन हुने चेतावनी दिएकी छिन्। आफूहरुको माग सम्बोधनमा ढिलाई भए थप आन्दोलनका कार्यक्रम सहित सडकमा उत्रिन बाध्य हुने उनले जनाएकी छिन्।
पार्टीले घोषणा गरेको मधेश बन्दको क्रममा बिरगंजबाट पक्राऊ परेका आजपा प्रदेश अध्यक्ष उमेश कुशवाहा, आम सांस्कृतिक मोर्चाको ईन्चार्ज एवम फतुवा विजयपुर नगरपालिकाका मेयर प्रत्यासी बिजय यादव निर्विज,आईटी आर्मीका केन्द्रीय सदस्य रामशरण यादव र सांस्कृतिक मोर्चाका प्रदेश अध्यक्ष दिपलाल यादव लगायतका आन्दोलनकारीहरु रिहा भएकाछन । प्रहरीको हिरासतबाट मुक्त भए संगै पर्सा जिल्लाका नेताकार्यकर्ताहरु भब्य स्वागत तथा सम्मान गरेकाछन ।