आफ्नो पिडा लुकाएर अरुका दुःख उजागर गर्ने पत्रकार

0
सुवर्ण गापा सूचना

आफ्नो पिडा लुकाएर अरुका दुःख उजागर गर्ने पत्रकार

अनिल पाण्डेय

जति नै आलोचना वा नकारात्मक टिप्पणी गरे पनि ताजा घटना, तिनको गहन विश्लेषण र अन्तरकुन्तरका जानकारी मिडियाबाटै पाउँछौँ । राज्यका बेथिति र विसङ्गतिबारे सुसूचित हुने पनि सञ्चार माध्यमबाटै हो । अहिलेको विश्वमा कसैलाई अलिकति पनि जबाफदेही वा उत्तरदायी कसैले बनाएको छ भने त्यो मिडियाले हो । यसलाई नकार्न सकिँदैन ।

हो पछिल्लो समय मिडिया सस्तो हुँदै गएको पक्कै हो । यसमा केही विकृति नआएका होइनन् । निष्पक्षता र निरपेक्षताको खाँचो छ । मिडिया हाउस र कतिपय अवस्थामा स्वयं पत्रकार पनि पेसाप्रतिको व्यावसायिकता र धर्मबाट विचलित भएका छन् । चुकेका छन् । यसको चर्चा यहाँ गर्न खोजिएको होइन ।

अहिले सञ्चार माध्यम र पत्रकारको कमी छैन । एउटा क्यामेरा र बुम बोकेकाहरू गाउँ, सहर चोक चौतारी जताततै देखिन्छन् । उनीहरू सबै पत्रकार हुन् कि होइनन् ? यस विषयमा पनि यहाँ बहस गर्न खोजिएको होइन ।

पत्रकारका भन्नै नमिल्ने दुःख !

अब मूल विषयमा प्रवेश गरौँ । पत्रकार जसले लुकेका वा जानीजानी लुकाइएका विषय प्रकाशमा ल्याउँछ । बेथिति र विसङ्गतिको पर्दाफास गर्छ । पर्दा पछाडि हुने चलखेलको पर्दा उघार्छ । निरङ्कुश शासकलाई घुँडा टेकाउँछ । कानुन, नियम र नीति सम्झाउँछ । जनताका दुःख, पीडा र वेदनालाई मुखरित गर्छ । शासकलाई सुशासन सम्झाउँछ । नेतालाई जनतासँग जोड्छ । प्रतिबद्धता र आश्वासन सम्झाउँछ ।

रात दिन दुःख गरेर अरूका दुःख देखाउने पत्रकारको दुःख कसले देखेको छ ? कसले लेखेको छ ? यहाँ चर्चा गर्न खोजिएको खास विषय यही हो । भोको पेटले कति पत्रकारले समाचार लेखे ? फाटो लुगाले कति नयाँ विषय उजागर भए ? जिन्दगी दाउमा राखेर कतिलाई प्रश्न गरे ? आफूले अन्याय सहेर कतिलाई न्याय दिलाए ? कसैसँग हिसाब छैन ।

के पत्रकारलाई दुःख छैन ? के महिनौँ तलब नपाएको पत्रकारका पीडा समाचार बन्न लायक छैनन् ? काम गर्दागर्दै लखेटिने पत्रकार समाचार होइनन् ? अवश्य हुन् । त्यसो भए किन बन्दैनन् समाचार ? अहम् प्रश्न नै यही हो ।

खुल्नै नसक्ने पत्रकार !

cinnepal.com ले यो सामग्री तयार पार्न विभिन्न सञ्चार माध्यममा कार्यरत केही प्रतिनिधि पत्रकारलाई सम्पर्क गरेको थियो । उनीहरूले आफ्ना पीडा पनि सुनाए । महिनौँ तलब नपाएका पीडा उनीहरूसँग थिए । काम गरेको श्रमको मूल्य माग्दा अपमानित हुनुपरेको अनुभव पनि सुनाए । अप्रत्याशित कामबाट गलहत्त्याइएको तितो यथार्थ भन्न भुलेनन् । भोको पेट लेखिएका समाचार उनीहरूलाई याद छन् । कोठा भाडा तिर्न नसक्दा घरबेटीले गरेको कचकच कण्ठस्थ छ ।

कोरोना महामारीमा कामविहीन हुनुको पीडा उनीहरूसँग छ ।

पीडाको उत्रो भारी बोकेका पत्रकारले दुःखको भारी cinnepal.comसँग बिसाए । तर, अन्तिममा प्राय सबैको एउटै आग्रह थियो, ‘समाचार बनाउने भए मेरो नाम चाहिँ नलेख्नुस् है ?’ दुनियाँलाई प्रश्न गर्ने पत्रकारको यो तहको निरीहता किन ? शासकलाई कडा प्रश्न तेर्स्याउन सक्नेले आफ्ना पीडा किन खुलाउन सक्दैन ?

यसका पछाडिका बाध्यता पनि उनैले सुनाए । ‘विश्वव्यापी बनेको कोरोना महामारीको असर नेपालमा पनि पर्‍यो,’ एक पत्रकारले cinnepal.comसँग भने, ‘महामारीमा पनि ज्यान जोखिममा राखेर काममा खटिएँ । घर परिवार र छरछिमेकको अवहेलना सहेँ । जोखिममा काम गर्दा आधा तलब पाइयो । तीन महिनामा एक महिनाको । म त रुनू कि हाँस्नु भए ।’

अर्का एक पत्रकारको पीडा पनि यो भन्दा कम छैन । उनको भोग्नु परेको नियति योभन्दा बढी छ । ‘जोखिममा रातदिन नभनी काम गरियो । बदलामा जागिर गयो,’ उनले भने, ‘काम गर्दागर्दै काम गर्न नआइजा भने । यसअघि पनि महिनौँ तलब नदिने मिडिया हाउसलाई महामारी राम्रो बहाना बनिदियो । काम गरेको अवधिको तलब पनि नपाइ बाहिरिनु पर्‍यो । अहिलेसम्म पनि श्रमको मूल्य पाउन लडिरहेको छु ।’

महामारी बहाना बन्यो

माथि नै भनिएजस्तो नेपालमा सयौँ मिडिया छन् । यसका कार्यरत हजारौँ पत्रकार र कर्मचारी छन् । ठुला भनिएका केही मिडियामा प्राय पत्रकारले दुःख पाएको देखिन्छ । यसमा ठुला भनिएका मिडियाका छापा माध्यमदेखि रेडियो, टिभी र अनलाइनमा पनि पत्रकारले दुःख पाएका छन् । यसमा कान्तिपुर मिडिया ग्रुपदेखि अन्नपूर्ण, नागरिक, राजधानी दैनिक र कारोबार लगायत छन् । केही श्रव्य सामग्री प्रसारण गर्ने टेलिभिजन र अनलाइन मिडिया समेत छन् ।

पछिल्लो एक वर्षमा यिनमा देखिएका केही साझा समस्या यहाँ चर्चा गरौँ । पुरानो र नेपालकै ठुलो भनेर दाबी गर्ने कान्तिपुर दैनिकमा कार्यरत पत्रकारका लागि महामारी अभिशाप बन्यो । कान्तिपुरलाई भने राम्रो बहाना । वर्षौँदेखि चलेको नारी मासिक र नेपाल साप्ताहिक कुनै जानकारी नै नदिई बन्द गरियो ।

त्यहाँ कार्यरत पत्रकार र कर्मचारीलाई फोर्स रिजाइन गर्न लगाइयो । सयौँ पत्रकार कर्मचारी कामविहीन भए । वर्षौँदेखि काममा खटिएका पत्रकार र कर्मचारीलाई महामारीकै बहानामा बिदा गरियो । उनीहरूको भविष्य र वर्तमान प्रति कुनै जिम्मेवारी बोध कान्तिपुरलाई भएन । यदपि पत्रकार र कर्मचारीलाई बिदा गर्दा कान्तिपुरले पाउनुपर्ने सबै पारिश्रमिक भने दिएर बिदा गरेको बताइन्छ ।

निरीह पत्रकार, बफादार सम्पादक

यतिका अन्याय हुँदा समेत विभिन्न मिडियामा कार्यरत पत्रकार बोल्न डराउँछन् । सामाजिक सञ्जालमा बहस गर्न डराउँछन् । अन्यायविरुद्ध खरो उत्रिने पत्रकार आफैलाई परेको अन्यमा बोल्न सक्दैनन् । यस्तो निरीहता किन कसरी आयो ?

पत्रकारकै कुरा सुन्ने हो भने यो उनीहरूको रहर नभई बाध्यता हो । मिडिया मालिकहरूको एक खालको अघोषित सिन्डिकेट नै छ । एउटा सञ्चार माध्यममा विद्रोह गर्दा उसले अरू सञ्चार माध्यममा पनि काम पाउन कठिन हुन्छ । त्यसैले उनीहरू बोल्न डराएको बताउँछन् । ‘जति नै विकास भएको भनिए पनि नेपालमा अलि ठुला सञ्चार माध्यम कति नै छन् र ?’ एक पत्रकारले भने, ‘यिनीहरूको अघोषित एकता छ । एउटामा विद्रोह गरेकालाई अन्त पनि काम नदिन लबिङ गर्छन् ।सर्कुलर नै जारी गर्छन्। यो यसअघि नै पुष्टि भइसकेको तथ्य हो ।’

अनि ठुला सञ्चार हाउसका सम्पादक त मालिकका कारिन्दा मात्रै हुन् । उनीहरूले मालिकको हितबाहेक सहकर्मीको हितमा बोल्दैनन् । उनीहरूको भूमिका मालिकको अन्ध वफादार नोकर जस्तो छ । कर्मचारीको हितमा उनीहरू चुइँक्क बोल्न सक्दैनन् । वर्षौँदेखि नदेखिने नाफा कुम्ल्याएका मिडिया मालिकहरूमा मानवीयता नै छैन भन्दा हुन्छ । नत्र संस्थाको विकासका लागि वर्षौँ काम गरेको एक कर्मचारीलाई एक छिन पनि नसोची कसैले गलहत्त्याउँछ ?

विरलै हुन्छ विद्रोह

यस्तो कयौँ पीडा बोकेर अरूका पीडा सुनाउने पत्रकारले पनि कहिलेकाहीँ बाध्य भएर विद्रोह गर्छन् । यो एक वर्षको अवधिमा पनि देखिने केही विद्रोह भएका छन् । त्यसमा विभिन्न सञ्चार माध्यममा रिले अनसनदेखि आफै कार्यरत मिडियामा अनसन बसेका पछिल्ला उदाहरण छन् ।

महामारीको बहानामा जबरजस्ती मिडिया हाउसबाट निकालिएका, तलब नदिइएका तथा तलब माग्दा दुर्गम क्षेत्रमा सरुवाका साथै महिनौँदेखि तलब नदिने सञ्चार संस्थाबाट पीडित पत्रकार तथा कर्मचारीले रिले अनशन सुरु गरेका थिए । उनीहरूले ठुला भनिएका सबै मिडियामा आन्दोलन गरे । विभिन्न विरोधका कार्यक्रम गरे । लामो समयसम्म पनि तलब माग्दा, पुनर्बहाली गर्दा तथा श्रमजीवी पत्रकार ऐन अनुसार सुविधा माग्दा कामबाटै वञ्चित गराइएपछि पत्रकारहरू रिले अनशनमा बसेका थिए । यो मिडिया मालिकविरुद्धको कडा विद्रोह थियो । पत्रकार महासङ्घको समन्वयमा पीडित पत्रकार(कर्मचारी संयुक्त सङ्घर्ष समिति नै बनाएर उनीहरूले अनसन बसेका सबैलाई जानकारी नै छ।

वर्षौँदेखि अरूका अन्यायका विरुद्ध समाचार लेख्ने पत्रकारका पीडा पनि अब समाचार बन्नुपर्छ । श्रमजीवीले न्यूनतम पारिश्रमिक पनि नपाउने ? जीवनभर श्रम, पसिना बगाउने पत्रकारहरूको जीवन कष्टकर भइरहने ? काम गरेको ज्याला पनि नपाउने ? यी विषय पनि अब समाचारका शीर्षक बन्नुपर्छ । न्यायका लागि लेख्नेहरू नै अन्यायमा पर्नु दुर्भाग्यपूर्ण हो । अब पत्रकारहरूले आफ्नो हकहितबारे पनि बोल्नु पर्छ ।

अरूलाई प्रश्न गर्ने मिडिया व्यवसायमाथि पनि प्रश्न उठाइनु पर्छ । मिडियामा हुने यस्ता समस्या, जटिलता अरू कसैले होइन मिडिया हाउसले उठाउनु पर्छ ।

 

 

सँम्भार:-cinnepal.com

Leave A Reply

Your email address will not be published.